समाचार

ललितपुरमा पहिरोमा परेर बालकको मृत्यु, घर, गोठ र गाईबस्तु बगायो, यातायात ठप्प

जावलाखेल । निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको वाग्मती गाउँपालिकाले जनाएको छ ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताए ।

कान्ती लोकपथमा पर्ने खानीखोला बढ्दा अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए । प्रहरी चौकी छपेली र प्रहरी चौकी आश्राङ गरेर दुवैतर्फका प्रहरी घटनास्थलमा पुग्न सकेका छैनन् । उनले भने, “त्यहाँको अवस्थाका बारेमा हामी गाउँपालिकासँग नियमित सम्पर्कमा छौँ ।” दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुँदा घटना हुँदा हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था रहेको वृत्तले जनाएको छ ।

यातायात अवरुद्ध

निरन्तरको वर्षाका कारण जिल्लाका तीन गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । कोञ्ज्योसोम, वाग्मती र महाँकाल गरेर तीन गाउँपालिकामा यातायात पूर्णरुपले अवरुद्ध बनेको वृत्तले जनाएको छ । गएरातिदेखि ठाउँठाउँमा सडक माथिबाट पहिरो जाँदा यातायातका कुनै पनि साधन चल्न नसकेको प्रमुख सापकोटाले बताए ।

पहिरो जाँदा तत्काल हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखेको भए पनि निरन्तर वर्षाका कारण अहिले काम हुन नसकेको उहाँको भनाइ छ । कान्ती लोकपथ, लेले–गोटीखेल, लेले सङ्खुलगायतका सडक अवरुद्ध छन् । उनले भने, “स्थानीय सडक यति नै ठाउँमा अवरुद्ध छन् भन्ने यकिन छैन, हामीले सङ्कलन गरिरहेका छौँ ।”

घर, गोठ र गाईबस्तु बगायो

वर्षाका कारण यहाँका झण्डै चार वटा घर र गोठ बगाएको वृत्तले जनाएको छ । विभिन्न स्थानमा गाईबस्तु मरेको विवरण प्राप्त भएको छ । धेरै घरमा भित्रै पानी पसेर र पानीले लड्न सक्ने भन्दै स्थानीयवासी घरमा बस्न छाडेका बताइएको छ ।