समाचार

तेह्र दिनको शिशु चोरी गर्ने दुई महिला प्रहरी फन्दामा

धरान । तेह्र दिनको शिशु चोरी गर्ने दुई महिला लाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा रहेको तेह्र महिले शिशुलाई चोरी गरेका थिए । प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो ।

पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु (छोरा) उनीहरुले चोरी गरेका थिए । बबिताले असार १३ गते छोरा जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमै राखेर उपचार भइरहेको थियो । सबै निदाएको मौका छोपी लीलाले आफ्नी भाउजुलाई बोलाएर शिशु चोरी गरेकी थिइन् ।

केही दिन अगाडिदेखि सुत्केरी तथा बच्चाको रेखदेखको बहानामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी लीलाले सबै निदाएको बेला भाउजु मीनालाई बोलाएर लगिएको पाइएको प्रनाउ न्यौपानेले बताएका छन । बिहीबार दुवैविरुद्ध मानव अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रनाउ न्यौपानेले जानकारी दिएका छन ।