समाचार

लगातारको वर्षाले पाल्पा–बुटवल सडक खण्डमा पहिरोः सडक एकतर्फि सञ्चालनमा

रामपुर । लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमाग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले हिजो बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।

पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन । अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केही समयमा सडक दुईतर्फी रूपमै सञ्चालन गरिने सापकोटाको भनाइ छ ।