अन्तर्राष्ट्रिय

भारतको आसाममा बाढीका कारण तीनको मृत्यु, चार लाख प्रभावित

एजेन्सी । अविरल वर्षासँगै आएको बाढीका कारण भारतको आसाम राज्यमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अरू चार लाख जना बाढीका कारण अलपत्र परेका छन् ।

हामीलाई अहिलेसम्म प्राप्त विवरणअनुसार कम्तीमा तीन जनाको मृत्यु भएको छ, त्यसमध्ये दुई जनाको बाढीसम्बन्धी घटना र अर्का एक जनाको पहिरोका कारण मृत्यु भएको हो,” आसाम राज्य विपद् व्यवस्थापन कार्यालयका अधिकारीले भनेका छन् ।

पछिल्लो २४ घण्टामा २५० भन्दाबढी गाँउ जलमग्न भएको पनि कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । सरकारले घटनास्थलमा खोजी तथा उद्धार गर्न र राहत उपलब्ध गराउन मातहतका निकायका अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ । हालै भित्रिएको मनसुनपछिको वर्षाका कारण यो हप्तामात्रै भारतका विभिन्न ठाउँमा ठूलो मात्रामा बाढी आएको र डुबान भएको छ ।