समाचार

हरियो बन नेपालको धनः सात लाख ४० हजार बिरुवा उत्पादन, वृक्षरोपण तीव्र

बिराटनगर । ‘वृक्षरोपण गरौँ, हरियाली बढाऔँ’ भन्ने नाराका साथ सरकारले शुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन डिभिजन वन कार्यालय मोरङले बिरुवा उत्पादन र वितरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

यसका लागि कार्यालयले यो वर्ष कूल सात लाख ४० हजार बिरुवा उत्पादन गरेको छ भने एक लाख ३६ हजार बिरुवा वितरण गरिसकेको छ । उत्पादित बिरुवा साउन १५ गतेभित्र वितरण गरिसक्ने डिभिजन प्रमुख विशाल घिमिरेले जानकारी दिए ।

सरकारले यो वर्ष देशभरमा पाँच करोड वृक्षरोपण गर्ने निर्णयलाई देशभरकै सम्बन्धित कार्यालयले पालना गर्नुपर्ने प्रावधानअनुसार डिभिजन वन कार्यालय मोरङले पनि सो उद्देश्यलाई पूरा गर्न लागिपरेको छ ।

मोरङमा कूल एक लाख ८५ हजार ५५० क्षेत्रफलमध्ये ४४ हजार ५०० हेक्टर जग्गामा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वनको विकास र विस्तार गर्न मोरङमा १७ एकाइमार्फत उत्पादन गरेको बिरुवा वितरण भइरहेको छ । वनले ७९ प्रजातिका बिरुवा उत्पादन गरेको छ ।

बिरुवा उत्पादन गर्ने नर्सरीमा सबैभन्दा उत्कृष्ट र व्यवस्थित सवडिभिजन वन नर्सरी सलकपुरका छन् । यसमा प्रदेश सरकारले रु २० लाख लागत लगाएर बनाइएको सो नर्सरीमा अहिले दुई लाख ५० हजार बिरुवा रोप्ने खालको उत्पादन भएको छ । यहाँ ३० प्रजातिका बोटबिरुवा उत्पादन भएको पाइएको छ ।

नर्सरीबाट उत्पादन भएको बिरुवा छिट्टै सर्ने र निःशुल्क पनि हुने भएकाले बिरुवाको माग बढेको पाइएको छ । मोरङमा ९६ प्रतिशत वन महेन्द्र राजमार्गदेखि उत्तरतर्फ छ भने दक्षिणी क्षेत्रमा वनको क्षेत्र बढाउन वृक्षरोपण गर्नुपर्ने र यसका लागि सरकारले मठमन्दिर, नदी किनार, गौचरन र सार्वजनिक एवं खाली जग्गामा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

वनजङ्गलमा देखिएको निकै पुराना रुखले गर्दा नयाँ बिरुवा हुर्कन नसक्ने र पछि जङ्गल पातलिने हुने भएकाले वनलाई घना बनाउन तथा व्यवस्थित गर्न सरकारले अहिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समितिले सानो क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन परीक्षण कार्यक्रम शुरु गरेको नमूना सामुदायिक वन उपभोक्ता समिति लेटाङका अध्यक्ष गोपाल शर्मा चौलागाईँले बताए ।

यस्तै जनसेवा सामुदायिक वन उपभोक्ता समूह लेटाङका अध्यक्ष दिलराम राईले पनि ३०५ हेक्टर जग्गामा रहेको सामुदायिक वनको केही क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको जानकारी दिए ।

उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले प्रस्तावित क्षेत्रमा वन राम्रो भएको र अहिले सामुदायिक वनमा रुख कटान गर्दा सालका रुख सबैभन्दा कम काट्नुपर्ने स्थिति छ भने अबको ५० वर्षपछि वैज्ञानिक वन व्यवस्थापनले सालको रुख बढी उत्पादन हुने कटान पनि गर्न सकिने विश्वास व्यक्त गरे ।

लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीद्वारा बेलबारी नगरपालिकाको वडा नं ११ स्थित लक्ष्मीमार्गमा ९३ हेक्टर जग्गामा एक लाख ४८ हजार वृक्षरोपणको काम भइसकेको छ, यसवर्ष २० हेक्टर जग्गामा ३२ हजार २४० बोटबिरुवा रोप्ने जानकारी दिनुभयो । उहाँले मसला, टिक, जामुन, बेल र खयर जातका बोटबिरुवाका लागि डिभिजन वन कार्यालय विराटनगरले रु नौ लाख र वन समितिको रु ११ लाख ६६ हजार ७३७ गरी कूल रु २० लाख ६६ हजार ७३७ खर्च व्यहोरेको समिति बेलबारीका अध्यक्ष लोकबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले बिरुवा त रोप्यो तर बिरुवाको अभिभावकत्व कसले लिने हो भन्ने सुनिश्चित हुनुपर्ने बागवानी विद्को भनाइ छ । “सारिएको बिरुवाले जरा समाउन कम्तीमा पनि १५ देखि ३० दिन लाग्छ । त्यतिञ्जेल पानी दिने, स्याहार्ने गरिएन भने त रोपेका बिरुवा मर्छन्”, बागवानी विद् भन्छन्, “यसै पनि पाँचदेखि १० प्रतिशत बिरुवाले जमीन समाउन सक्दैनन् तीनका ठाउँमा नयाँ बिरुवा रोप्नुपर्छ ।” वृक्षरोपणपछिको स्याहारको निक्र्यौल नभई गरिएको वृक्षरोपण सफल नहुने दाबी स्थानीयवासीको छ ।

“धुलोका कारण बिरुवाको स्वाशनलीका रुपमा रहने पात टालिन्छ । त्यसका लागि दैनिक दुई पटक पात पखालिने गरी मजाले पानी हाल्नुपर्छ”, प्रमुख घिमिरेले भने, “त्यतिमात्र होइन बेलाबेला मलखाद हाल्ने तथा झार उखेल्ने पनि गर्नुपर्छ ।” “वृक्षरोपणको सिद्धान्तलाई कार्यान्वयनमा ल्याइनु सकारात्मक हो तर बिरुवा हुर्काउन शिशुलाई जस्तै हेरचाह गर्नुपर्छ”, उनले भने, “त्यसबारे छलफल हुँदैछ ।”