समाचार

अझै केही दिन वर्षा हुनसक्नेः नागरीकलाई सतर्क रहन आग्रह

काठमाण्डौ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भूभागमा लगातार पानी परिरहेको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जानकारी दिएका छन । लगातार पानी परेपछि बाढी र पहिरोको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

आज चुरेबाट बहने खोलामा बाढी आउँने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । आज बेलुकीपछि भने पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रमा पानीको सतहले सतर्कता तह पार गर्ने देखिएको पनि महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिएका छन ।