समाचार

पार्टीभन्दा माथि उठेर संस्कृतिको रक्षा गर्नुपर्नेमा राप्रपाका अध्यक्ष थापाको जोड

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् ।

मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारोहमा आज अध्यक्ष थापाले बढ्दो धर्म परिवर्तनलाई रोक्न नसके समस्या उत्पन्न हुनेतर्फ सबैलाई सचेत हुन आग्रह गरेका हुन ।

समय क्रममा सरकार तथा व्यवस्था परिवर्तन हुने तर कार्यशैली परिवर्तन नहुने गरेको भन्दै अध्यक्ष थापाले आफ्नो धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र प्रहार कुनै पनि स्वाभिमानी नेपालीले टुलुटुलु हेरेर बस्न नहुने बताएका छन ।

यसैबीच राप्रपा थाहा नगर समितिद्वारा आजै आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष थापाले नयाँ ढङ्गबाट सङ्गठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन । चुनावी हारजित स्वभाभिक प्रक्रिया भएकोले त्यसको समीक्षा गर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्नेमा थापाको जोड थियो ।