अन्तर्राष्ट्रिय

ट्रम्पसँगको सम्वन्ध चिसिएपछि अमेरिकाका लागि बेलायती राजदूत किमद्वारा राजीनामा

एजेन्सी । अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले पदवाट राजीनामा दिएको बताएका छन । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी गराएका हुन ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो । बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।

उनले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामापत्रमा उल्लेख गरेका छन । बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनले बताए । उनको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी पनि गराएकि छन । उनले राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिईन ।

ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।