समाचार

एनसेल टावर अभियोगमा पक्राउ परेका पोलिटब्यूरो सदस्य कार्की नुवाकोटमा

त्रिशुली । एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

उहाँको अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका तर्फबाट कार्कीको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।

गत चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्कीलाई विप्लव समूहको नामबाट विभिन्न जिल्लाहरुमा भएको आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा अदालतमा उपस्थित गराउने क्रममा नुवाकोट प्रहरीले मङ्गलबार बिहान नुवाकोट ल्याएको हो ।