राजनीति

त्रिभुवन विश्वविद्यालयमा गलत गर्नेलाई कडा कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलाई बद्नाम गराउन गलत गर्नेलाई कडा कारबाही र राम्रो गर्नेलाई उचित पुरस्कार प्रदान गर्न सरकार पछि नहट्ने बताएका छन् । केहीदिन अगाडीमात्र ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ नम्बर दिएको घटनालाई संकेत गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएक हुन् ।

विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले भने, “शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन । नाजायज कुरा कसैले पनि गर्नु हुँदैन । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन ।”

त्रिविका कुलपतिसमेत रहेका उनले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३०० भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।

प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गरेका थिए । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै सङ्घीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढङ्गले अघि बढ्नुपर्ने आग्रह गरे । मन्त्री पोखरेलले भने, “विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन ।

यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ । विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताए । शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ भने । बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो ।