समाचार

हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नगरपालीकाका स्वास्थ्य संयोजक सन्दीप केसीले बताएका छन । उनका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य अवस्था केन्द्रबाट जानकारी लिनेछ भने स्वास्थ्य विधाका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकसमेतले धुलिखेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्नेछन् ।

नगरपालिकाले उक्त केन्द्र धुलिखेल अस्पतालको साझेदारीमा धुलिखेलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको हो । नेपालका स्थानीय तहमध्ये धुलिखेल नपामा स्थापित स्वास्थ्य सूचना केन्द्र सम्भवतः पहिलो मानिएको छ । ब्याञ्जूका अनुसार नगरभित्रका निजी, सरकारी तथा गैरसरकारी विभिन्न स्वास्थ्य संस्थाको पनि स्वास्थ्यसँग सम्बन्धित सूचना उपलब्ध गराइनेछ ।

केन्द्रका लागि आवश्यक सामग्री नपा कार्यालयले उपलब्ध गराएको हो । केन्द्रबाट नगरको अद्यावधिक जनसङ्ख्या, नगरभित्रका विभिन्न प्रकारका रोगीको सङ्ख्या तथा अवस्था जानकारी लिन सकिनेछ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख नन्दराज अवस्थीले धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापनाले स्थानीयवासी र पर्यटकका लागि सुविधा पुग्ने बताएका छन ।

धुलिखेलमा एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई प्रजनन केन्द्रसहित चार स्वास्थ्यचौकी, तीन नगर स्वास्थ्य केन्द्र र एक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।