समाचार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्धारा हजार ५२० नमूना परीक्षण

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आवमा जेठ मसान्तसम्म छ हजार ५२० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका एक हजार ७७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ ।

गत ११ महीनामा ६ हजार ४६८ नमूना प्राप्त भएको र गत आवको ७३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा विषविज्ञान (टक्सिकोलोजी) मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कामु कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताएका छन ।

विषविज्ञानअन्तर्गत सङ्कलन भएका ५५९ मुद्दाका एक हजार १४८ नमूना परीक्षण भएको उहाँले जानकारी दिनुभयो । रसायशास्त्रमा ५००, जीवविज्ञान तथा वन्यजन्तुमा १२१, डिएनए १७३ र विवादित प्रलेखमा ४१७ मुद्दाको परीक्षण भएको थियो । प्रयोगशालाले यहाँ आएका मुद्दाका आधारमा नयाँनयाँ प्रविधि र उपकरण भित्र्याइरहेको कामु कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । विश्वका अरु देशमा भएका प्रविधि र उपकरणलाई भित्र्याएर प्राप्त मुद्दाको वैज्ञानिकरूपमा परिणाम दिने गरिएको छ ।

यस प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट नै मुद्दा आउने गरेका छन् । यीबाहेक राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण केन्द्र, वन विभाग, जिल्ला वन कार्यालय, प्रहरी, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट समेत मुद्दा आइरहेका छन् । न्यायिक सुधार समितिको सुझावका आधारमा विसं २०६२ मा प्रयोगशालाको स्थापना भएको थियो ।