समाचार

सरकार आफ्नो निर्णयबाट पछि हट्ने कार्य त्रुटिपूर्णः किसान महासङ्घ

काठमाडौं । अखिल नेपाल किसान महासङ्घले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णयबाट सरकार पछि हट्ने कार्य त्रुटीपूर्ण भएको जनाएको छ ।

भारतीय राजदूतावासद्वारा सो निर्णय रोक्नका लागि पत्राचार गरेकामा महासङ्घको आज बसेको स्थायी समितिको बैठकको ध्यानाकर्षण भएको जनाइएको छ । आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि विषादी परीक्षण गर्ने सरकारकोे निर्णय सही र नेपाली किसान तथा आम उपभोक्ताको पक्षमा रहेको महासङ्घका संयोजक बामदेव गौतमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलको विषादी पुनः परीक्षण शुरु गर्न र नेपाली आम उपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेको छ ।