अन्तर्राष्ट्रिय

अफ्रिकी स्वतन्त्र व्यापार सम्झौता निकै सकारात्मक छः दक्षिण अफ्रिकी राष्ट्रपति

केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता (आफ्टा) को घोषणा अफ्रिकी जनताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन ।

नाइजरको नियामेमा सम्पन्न अफ्रिकी युनियनको बैठकमा सहभागी भएर केपटाउन पुगेका राष्ट्रपति रामाफोसाले पछिल्लो सम्झौताले अफ्रिकी मुलुकहरुको अर्थतन्त्रलाई नयाँ स्वरुप र प्रगतिपथमा लैजाने विश्वास व्यक्त गरेका हुन । उनले भने यो व्यापार सम्झौता अफ्रिकाका लागि कोशेढुंगा हो र ६० वर्षअघि अफ्रिकी युनियनको स्थापना गर्दा त्यसका संस्थापकहरुको साझा सोचको परिणामस्वरुप यो उपलब्धी भएको हो ।

राष्ट्रपति रामाफोसाले अफ्रिकाका पूर्व नेताहरुले अफ्रिकालाई एकताबद्ध गराउन यो अवधारणा ल्याउनुभएको पनि बताएका छन । नाइजरमा भएको अफ्रिकी युनियनको बैठकमा आफ्टा कार्यान्वयनमा सम्झौता भएको थियो । यो सम्झौतापछि अफ्रिकाको आन्तरिक बजार सबै अफ्रिकी मुलुकका लागि खुला हुनेछ ।

यो सम्झौताबाट अफ्रिकाका ठूला अर्थतन्त्र भएका मुलुकहरु दक्षिण अफ्रिका, नाइजेरिया र केन्याजस्ता मुलुकले धेरै फाइदा लिन सक्नेछन् । अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र विश्वकै सबैभन्दा ठूलो र करिब ३२ खर्ब अमेरिकी डलरको कूल गार्हस्थ्य उत्पादन भएको क्षेत्र हुनेछ । यस सम्झौताले अफ्रिकामा बसोबास गर्ने झण्डै एक अर्ब २० करोड मानिसलाई प्रभावित तुल्याउनेछ ।