बाग्मती

भीमसेन थापा स्मृति पुरस्कार प्रा डा वैद्यलाई

काठमाण्डौ । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार प्रा डा तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । विगत पाँच दशकदेखि नेपालको इतिहाससम्बन्धी अनुसन्धानात्मक पुस्तक एवं लेख प्रकाशित गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिने भएको हो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले प्रदान गर्ने सो पुरस्कारको राशि रु ५१ हजार १११ रहेको छ ।

भीमसेन थापाको २४४ औँ स्मृति दिवसका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले राससलाई जानकारी दिए । पुरस्कार छनोटका लागि प्रा डा मोहन लोहनीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । प्रतिष्ठानले विगत दुई दशकदेखि इतिहासको क्षेत्रमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सेनाले बताए । उक्त पुरस्कार गत वर्ष बेलायती इतिहासकार डा जोन हवेल्म्पटनलाई प्रदान गरिएको थियो ।