समाचार

अब प्रतिनिधिसभाको बैठक भोलि मात्रै बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिए ।
त्यसअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली काँग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गर्नुभएको थियो । छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो । प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेडमा निधनलगायत विषयमा छानविन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो घटनाका बारेमा सदनलाई जानकारी दिएका थिए । गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण बैठक आजको बैंठक १५ मिनेटका लागि भनेर स्थगित भएको थियो ।