पर्यटन/संस्कृति

सगरमाथा आरोहण गर्न नमिल्ने हल्ला निराधार

काठमाडौँ । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ ।

आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण भएकाप्रति विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त विषय वस्तुगत नभएको हुँदा यस्ता अवास्तविक हल्लाका पछि नलाग्न सरोकारवाला सबैमा अनुरोध पनि गरेको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायत हिमाललाई जोडेर पछिल्लो समय गलत प्रचार भइरहेको भन्दै त्यस्ता हल्लाको विश्वास नगर्न अपिल गरेका छन् । मुलुकको पर्वतारोहणलाई व्यवस्थित र सुरक्षित बनाउन विभागले सरोकार भएका निकायसँग समन्वय र छलफलका साथ अघि बढ्ने उनले बताए ।