गण्डकी प्रदेश

विकट गाउँका टोलटोल झिलीमिलिः पर्वतमा सौर्यबत्ती जडान

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिएका छन ।

लोडसेडिङको बेला पनि गाउँमा पैदलयात्रा गर्नेलाई सहज र चोरी÷डकैतीका घटना नहोऊन् भन्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडकबत्ती जडान गरिएको उहाँले बताए । सौर्यबत्ती जडान भएपछि लोडसेडिङको बेला पनि उज्यालो हुने भएको छ ।

साविक लुङ्खुदेउरालीका झण्डै एक दर्जन स्थानमा सडक बत्ती विस्तार गरिएको हो । एउटा बत्तीले ५० मिटर वरपर उज्यालो दिने बताइएको छ । लुङ्खुदेउरालीको एकपाटेमा रहेको वडा कार्यालय परिसर, स्वास्थ्यचौकी, महेन्द्रज्योति मावि, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल महाशिला, मिलनचोक–देउराली पदमार्गको प्रतीक्षालयलगायतका स्थानमा बत्ती विस्तार गरिएको उच्चैले बताएका छन ।

गाउँपालिकाको झण्डै रु पाँच लाखको लागतमा बत्ती जडान गरेपछि स्थानीयवासीलाई सहज भएको छ । पछिल्लो समय धार्मिक एवं पर्यटकीय हिसाबले पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएका बेला सडकबत्ती जडान गरेपछि अझै सहज हुने भएको छ ।

एशियाकै ठूलो महाशिला, धुँवाकोट, चिसापानी, विभिन्न गुफा तथा गुम्बा र स्थानीय समुदायको संस्कृति यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षणका रूपमा रहेका छन् । यसअघि पर्वतको सदरमुकाम कुश्मा, दोस्रो व्यापारिक केन्द्र डिमुवा, वारीबेनीलगायतका बजारक्षेत्रमा पनि सौर्यबत्ती जडान गरिएको थियो । सौर्यबत्ती जडानपछि चोरी डकैतीलगायत गैरकानूनी क्रियाकलापमा कमी आएको प्रहरीले जनाएको छ ।