पु.समाचार

पुरानो बसपार्क अनि हिलो, धुलोले र यात्रु

काठमाण्डौ । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।

पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।

खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ । खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ । बसपार्कमा बनेको पानीको पोखरीले बस चढ्न जानसमेत मुस्किल हुने गरेको यात्रु रामसिंह विश्वकर्माले गुनासो गरे ।

बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडकमा आई राष्ट्रियसभा गृहअघिसम्म धुलो उड्ने गरेको छ । यो मार्गमा हिँड्ने याात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अवस्था छ । मास्क नबोक्ने यात्रुले रुमालले मुख नाक छोपेर हिँडेको देखिन्छ । महिला यात्रुले भने सलले नाक मुख छोपेर हिँड्ने गरेका छन् ।

राजधानीको महत्वपूर्ण स्थानमा रहेको बसपार्कसमेत सरोकार भएका निकायले व्यवस्थित गर्न नसक्दा राष्ट्रिय अन्तरराष्ट्रियरुपमा राम्रो सन्देश नजाने यात्रु रमिला महर्जनको भनाइ छ । बसपार्क रहेको महानगरपालिका– २८ कार्यालयले भने पुरानो बसपार्क व्यवस्थित गर्ने काम केन्द्रीयकरण भएकाले समस्या आइरहेको जनाएको छ ।

वडाध्यक्ष भाइराम खड्गी पुरानो बसपार्कसम्बन्धी जन गुनासो धेरै आएकाले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउछन् । “पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजान्छ, अव्यवस्थित संरचनालाई व्यवस्थित पनि गर्दैन गुनासो जति वडा कार्यालयमा आउँछ, असार २९ गते बस्ने नगरसभा बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउँछु”, उनले भने ।

पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ । यहाँ ढलसमेत व्यवस्थित नगरिएकाले कहिले त ढलको कुलो नै बग्ने गरेको छ । बसपार्क अव्यवस्थित हुँदा दृष्टिविहीन, अपाङ्गता लगायतलाई समस्या हुने गरेको छ । वीर अस्पतालअघिबाट निजी सवारी साधन सडक झैँ गरी पुरानो बसपार्कमा छिर्न दिँदा पनि यहाँ यात्रुले असुरक्षित अनुभव गर्ने गरेका छन् ।

बसपार्कमा बाहिर जाने आउने बस कुर्ने हो तर यहाँ सडक झैँ गरी निजी सवारी तछाडमछाड गरेर दौडिन्छन् । यसलाई व्यवस्थित ट्राफिक प्रहरीले पनि चासो देखाएको छैन । भ्यू टावर निर्माण कछुवा गतिमा रहेकाले पनि पुरानो बसपार्कको समस्या छिट्टै समाधान हुन नसक्ने वडा कार्यालयले जनाएको छ । भ्यू टावर निर्माणसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाले पनि काम हुने नहुने निश्चित छैन । यसैले गर्दा खुलामञ्चमा अस्थायी भनी सञ्चालनमा रहेको बसपार्क व्यवस्थित गरिनुपर्ने वडाध्यक्ष खड्गी बताउछन् ।