खेलकुद

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नजिक पुगेको छ । सोमोबार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेका हो ।  मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको नोक्सानीमा पार गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए। भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए। उनले १६ बलमा १ चौका र २ छक्का हिर्काए। अघिल्लो खेलमा शतक हिर्काएका रित गौतम ३ रन र खडकबाहादुर बोहोरा ० मा आउट भए। बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे।

त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा ८७ रनमा अलआउट भयो। नेपालले प्रतियोगिताको उपाधिका लागि हङकङ र सिंगापुरबिचको बिजेतासँग भोली प्रतिस्पर्धा गर्नेछ ।