कर्णाली प्रदेश

वषौँपछि नुवागाउँमा खानेपानी

काठमाडौँ । वषौँदेखि खानेपानी अभाव झेल्दै आएका भेरी नगरपालिका–१० नुवागाउँका स्थानीयवासी आफ्नो घरघरमा खानेपानी आएपछि खुशी भएका छन् ।  पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा जाजरकोट) कार्यक्रमबाट रु छ लाख ४९ हजारको बजेटबाट दुई वटा मुहान संरक्षण गरी नुवागाउँ खानेपानी योजना निर्माण तथा मुहान संरक्षण भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

खानेपानीबाट यहाँका ४० घरधुरीले प्रत्यक्ष लाभ लिएका छन् । वर्षौंदेखि खानेपानीको अभावमा समस्या भोग्दै आएका स्थानीयवासी पानी घर, आँगनमै पाएपछि निकै खुशी भएका स्थानीय जयराम पुनले बताए। पटकपटक खानेपानीका लागि आग्रह गरिएको भए पनि धेरै वर्षपछि पानी पाएको पुनले बताए।

पानी नहुँदा शौचालय, पशुचौपाय र अन्य सिँचाइका क्षेत्रमा समेत काम गर्न समस्या पर्दै आएको थियो । अहिले पानी उपलब्ध भएसँगै समयको बचत, सरसफाइ गर्न सजिलो हुनुका साथै शुद्ध पानी उपभोग गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष झुपे पुनले बताए । पछाडि परेका र समस्या भएका ठाउँमा लगानी गरेर जनतामा विकासको अनुभूति गराउने जिल्ला आयोजना संयोजक खिलानाथ दाहालले जानकारी दिए ।

दश प्रतिशत श्रमदान गरेका स्थानीयले पानी घर आँगनमै पाउँदा सारा दुुःख हटेको अर्का स्थानीय कैशिला सार्कीले बताए। अधिकांश जनजाति र दलित समुदाय भएको नुवागाउँमा पानी पाएपछि किसानले अब कृषि व्यवसाय राम्रो हुने आशा व्यक्त गरेका छन् ।