विचित्र संसार

सबैले एक पटक पढ्नै पर्ने सुगाको मन छुने कथा !

काठमाडौँ । एक सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जाने गर्थे । सेठले एउटा सुगा पालेका थिए, जो पिँजरामा रहन्थ्यो । एक दिन सुगाले सेठसित सोध्यो– सेठजी, तपाईंहरू हरेक दिन कहाँ जानुहुन्छ ? सेठले जवाफ दिए– हामी हरेक दिन साधु महाराजको सत्संग सुन्न जान्छौँ ।

सेठजीको जवाफ सुनेपछि सुगाले भन्यो– हजुरहरू सत्संगमा जानुहुन्छ भने कृपया साधु महाराजसँग मेरातर्फबाट म कहिले स्वतन्त्र हुन्छु भनेर पनि सोधिदिनुहोस् न है ? हुन्छ, हामी सोधिदिउँला भनेर सेठ र उनकी धर्मपत्नी सत्संग सुन्न गए । सत्संग समाप्त भयो । सबै श्रोता बाहिरिँदै गएपछि सेठजीले सोधे– साधु महाराज, मैले एउटा सुगा पालेको छु । त्यसले आज एउटा प्रश्न हजुरसामु राखिदिन अनुरोध गरेको छ । ऊ जान्न चाहन्छ कि ऊ कहिले स्वतन्त्र हुनेछ ?

प्रश्न सुन्नासाथ साधु महाराज बेहोस भएर ढले । उनलाई सहयोगीहरूले उठाएर आश्रमको भित्री भागमा लगे । सेठ चुपचाप त्यहाँबाट निस्किए । उनी घर पुग्नासाथ सुगाले सोध्यो– सेठजी, मेरो स्वतन्त्रताबारे साधु महाराजले के भन्नुभयो त रु सेठले भने– तेरो भाग्य नै खोटो रहेछ । तेरो प्रश्न सोध्नासाथ साधु महाराज बेहोस भएर लड्नुभयो । सेठको जवाफ सुनेपछि सुगाले भन्यो– केही छैन सेठजी, मैले बुझेँ ।

अर्को दिन बिहान सेठ र उनकी पत्नी सत्संगका लागि निस्किँदै थिए, त्यति नै खेर सुगा पिँजरामा जानाजान बेहोस भएर ढल्यो । सेठलाई लाग्यो, ला १ सुगा त मरेछ । उनले सुगालाई पिँजराबाट बाहिर निकाले । मौका पाउनासाथ सुगा उडेर बेपत्ता भयो । सत्संगमा पुग्नासाथ साधुले सेठसित सोधे– हिजो तपाईं सुगाका बारेमा केही सोध्दै हुनुहुन्थ्यो, अब ऊ कहाँ छ ? सेठले भने– महाराज, आज बिहानै ऊ जानाजान बेहोस भएको नाटक गरेर पिँजरामा लडेको रहेछ ।

मैले ऊ मरेछ भन्ने ठानेर बाहिर निकाल्नासाथ ऊ उडेर बेपत्ता भयो । सेठको जवाफ सुनेपछि मुसुक्क मुस्कुराउँदै साधुले भने– हेर्नुहोस् त सेठजी, तपाईं यति धेरै दिनदेखि सत्संग सुनेर पनि अझै सांसारिक मायामोहको पिँजरामा फसिरहनुभएको छ, तर त्यो सुगा भने सत्संगमा नआईकनै पनि मेरो एउटा इसारा बुझेर स्वतन्त्र भयो । नयाँ पत्रिका