कर्णाली प्रदेश

सुर्खेत प्रहरीद्धारा द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला

सुर्खेत । सुर्खेत प्रहरीले द्वन्द्वकालीन समयको विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव नेतृत्वको नेकपाको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो ।

पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन । फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उनले बताएका छन । त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो । बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।