समाचार

लागुऔषधसहित दुई व्यक्ति प्रहरी नियन्त्रणमाः डाइपरमा सुन तस्करी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले ललितपुरमा अजिता गुरुङले सञ्चालन गरेको कपडा सिलाउने पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित गुरुङ र उनका श्रीमान् सुरेन नगरकोटीलाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले कपडा सिलाउने पसलमा लागुऔषध कारोवार गरिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच हजार १०५ एम्पुल, डाइजेपाम एक हजार ७८३ एम्पुुल, नुर्फिन दुई हजार १२१ एम्पुल र फेनार्गन एक हजार २०१ एम्पुल फेला परेको बताएका छन ।

प्रहरीले रु एक लाख ५० हजार, मोबाइल सेट ३६ थान, आइप्याड तीन थान र पावर बैँक एक थानसमेत बरामद गरेको छ । पक्राउ परेका नगरकोटी लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

यसैबीच बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जना आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालय काठमाडौँको टोलीले सुन लुकाएर ल्याउँदै गरेका नवलपरासीका वीरबहादुर थारुलाई पक्राउ गरेको प्रमुख भन्सार अधिकृत चुडाराज सापकोटाले जानकारी दिएका छन ।

थारुले डाइपरको बटम भित्र फल्स बटम बनाएर १९३ ग्राम सुन ल्याएको फेला परेको छ । उनी कतारको दोहाबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत काठमाडौँ आउँदा जाँचका क्रममा सुनसहित पक्राउ परेका हुन् । आजै प्रहरीले विमानस्थलबाट डाइपरमा सुन राखेर कतारबाट आएका एकसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोरङका लिलाबहादुर बस्नेत तथा सामान लिन आउने रुपेश गिरी र टेकबहादुर थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिएका हुन ।

बस्नेतको साथबाट ४०० ग्राम सुन बरामद गरिएको थियो । विदेशबाट आउँदा ५० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने कानूनी प्रावधान छ ।