राजनीति

१४ औं महाधिवेश थाल्ने सहितका कार्यसूचीको अध्ययनपछि काँग्रेस बैठक पुनः २७ गते बस्ने

काठमाण्डौ । नेपाली काङ्ग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यसूची प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्ने, विधानबमोजिम क्रियाशील सदस्यता नवीकरण एवं वितरणसम्बन्धी, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत प्रस्तुत गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

काङ्ग्रेसले गत वैशाख २५ देखि जेठ २५ गतेसम्म मुलुकभर एकसाथ पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको थियो ।

त्यस्तै बैठकमा काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने, केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि प्रस्तुत गरिएका छन् ।

बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, तनहुँमा अवैध रुपमा गठन भएको काङ्ग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्बन्धमा, देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ र विविध गरी १४ कार्यसूची पेश भएका छन् ।

कार्यसूची प्रस्तुतिपश्चात् बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखकले ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेको मुख्यसचिव पौडेलले जानकारी दिए । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका सबैलाई वितरण गरी आजको बैठक समापन भएको थियो । नियमावलीको अध्ययनपश्चात् यही असार २७ गते अपराह्न १ बजे बैठक पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

बैठकको प्रारम्भ गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्वलगायत सबैलाई बधाई एवं धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यसूची

१ नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।
२ पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।
३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।
४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने ।
५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने ।
६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।
९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।
१० जनसम्पर्क समितिका सम्बन्धमा ।
११ स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।
१२ तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।
१३ देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।
१४ बिविध