समाचार

पत्रकार कुटपिट गरेको प्रति महासङ्घको भत्र्सनाः दोसिलाई कार्वाहिको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की र पूर्वअध्यक्ष मीनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति महासङ्घले भत्र्सना गरेको छ ।

महासङ्घले आईतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारवाही गर्न, उपचार व्यवस्था मिलाउन र भविष्यमा यस्तो घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग जोड्दार माग गरेको छ । यस्तै नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घका सिन्धुलीका अध्यक्ष हेमकुमार कार्की (राजन) र शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहाललाई प्रहरीले साङ्घातिक आक्रमण गरी घाइते बनाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले कमलामाई नगरपालिका–६ स्थित शिवनगरमा यही असार २१ गते राति सादा पोसाकमा रहेका प्रहरी हबल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तानले आक्रमण गरी घाइते बनाएको जनाएको छ । सरकारी ओहोदामा रहेकै जिम्मेवार व्यक्तिको आक्रमणबाट पत्रकारद्वय कार्की र दाहाल घाइते भएको घटनाको युनियनले भत्र्सना गर्दै आक्रमणकारीलाई कानूनी कारवाही गर्न र घाइते पत्रकारको स्वास्थ्योपचार गर्न सरकारसँग माग गरेको छ ।

“घटनापश्चात् सिङ्गो सञ्चारजगत्, आम नागरिक र व्यवसायीले सरकारी सुरक्षाकर्मीका साथै अराजक तथा असामाजिक व्यक्तिबाट असुरक्षित महसुस गरेका छन् । यस्तो अवस्थामा तत्काल शान्तिसुरक्षा कायम गरी पत्रकार तथा आम नागरिकको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष हामी जोड्दार माग गर्दछौँ”, महासचिब अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । युनियनले घाइतेहरुको उपचार र क्षतिपूर्ति दिलाई दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन माग गर्दै घाइते पत्रकारद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।