समाचार

अछाममा करेन्ट लागेर युवकको मृत्यु

अछाम । करेन्ट लागेर अछाममा एक युवकको मृत्यु भएको छ । आईतबार साँझ कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्युु भएको हो ।

रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासलाई एक्कासि ढलेको र उनको शरीरमा आगलागी भएको मृतकका काका धनबहादुर जनालाले जानकारी दिएका छन । पाली नजीक बगिरहेको पानीमा हिँड्ने क्रममा करेन्ट लागेकाले पोलबाट विद्युत् प्रवाह भएको अनुमान गरिएको छ । करेन्ट लागेपछि आगोसमेत सल्केको र विकासको दुवै खुट्टासमेत जलेको धनबहादुरले बताएका छन ।

करेन्टबाट विकासँगै एक गोरु पनि मरेको बताईएको छ । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।