अन्तर्राष्ट्रिय

आफ्नो मुलुकको दुई स्थानलाई विश्व सम्पदा सूचीका लागि छनौट गरेकामा पोर्चुगलको स्वागत

लिस्बन । आफ्नो मुलुकका दुई स्थानलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा सूचीकृत गरेकोमा पोर्चुगाली नेताहरुले त्यस्को स्वागत गरेका छन ।

युनेस्कोले माफ्रा राजदरबार र ब्रागास्थित बोम जेसुसलाई विश्व सम्पदा सूचीमा राखेको घोषणा गरेको थियो । अजरबैजानको बाकुमा सञ्चालन भइरहेको युनेस्कोको ४३औं सभाका अवसरमा उक्त घोषणा गरिएको थियो । जुन ३० मा शुरु भएको सभा यही जुलाई १० सम्म चल्नेछ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सौसाले जारी गरेको वक्तव्यमा पोर्जुगाली नागरिकहरुका लागि यो अति नै खुशीको क्षण भएको बताएका छन ।

“यो निर्णयसँगै विश्व सम्पदा समितिले दुई वटा पोर्चुगाली सांस्कृतिक सम्पत्तिलाई विश्व सम्पदा सूचीमा राखेको छ । यो सँगै विश्व सम्पदा सूचीमा सूचीकृत पोर्चुगलका सम्पदाको संख्या १७ पुगेको छ । यो स्थानीय पोर्चुगालीको मात्र होइन मानवको जीवन्त इतिहासको संरक्षण हो,” उनले आफनो विज्ञप्तिमा जनाएका छन । प्रधानमन्त्री एन्टोनियो कोस्टाले पनि ट्वीट गर्दै युनेस्कोको निर्णयको स्वागत गर्नुभएको छ । युनेस्को विश्व सम्पदा सूचीमा हाल १६७ मुलुकका एक हजार ९२ स्थान सूचीकृत छन् ।