खेलकुद

इस्टर्न रिजन क्रिकेटको फाईनलमा पुग्ने नेपालको लक्ष्यः मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ

काठमाडौं । मलेसियामा जारी एसीसी अण्डर–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्न लागेको हो । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो । साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।

समूह चरणमा नेपालले २ खेलमा २ जित निकालेको थियो । मलेसियाले ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । समूह बी मा रहेको मलेसियाले थाईल्याण्ड र भुटानलाई पराजित गर्दा हङकङसँग हार व्यहोरेको थियो । ऋण्डर–१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।

नेपाल र मलेसियाबीच पहिलो पटक सन् २००५ मा एसीसी यू(१९ कपमा भेट भएको थियो । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो । यस्तै सन् २००७ मा भएको एलिट कपमा नेपाल ५ विकेटले विजयी भएको थियो । सन् २०१३ मा एसीसी यू(१९ एलिट कपको समूह चरणमा ७ विकेटले जित निकालेको नेपालले तेस्रो स्थानका लागि भएको खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

सन् २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५३ रनले विजयी भएको थियो । सन् २०१६ को यू(१९ एसिया कपमा नेपालले मलेसियामाथि १ विकेटको रोमान्चक जित दर्ता गरेको थियो । यस्तै सन् २०१७ को यू(१९ इस्टर्न रिजनमा नेपालले मलेसियालाई १० विकेटले हराएको थियो । त्यतै सन् २०१७ को यू(१९ विश्वकप छनोटमा नेपालले मलेसियासँग २ पटक प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।