समाचार

डा. महत र म्यान्माका अन्तर्राष्ट्रिय सहयोग मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्माका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तिनबीच आज म्यानमारको यांगुनमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।

नेपाल र म्यान्माबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता रहेको विषयमा उनीहरुबीच कुराकानी भएको डा महतले बताए ।  म्यान्मामा ठूलो सङ्ख्यामा नेपाली भाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको आफूले पाएको जानकारी डा .महतले दिए । उनीहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो ।

सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । आजदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एसिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एसिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिहरुको सहभागिता छ ।