राजनीति

नेता–कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाएका छन् ।

“पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ”, प्रधानमन्त्री ओलीले भने–“पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताएका छन् ।

आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन् ।” प्रधानमन्त्री ओलीले भने,– “हामीले गर्न खोजेको त्यही हो । यसबाट हामीलाई लाभ हुन्छ । देशका निम्ती हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो ।”

बैठकमा प्रधानमन्त्री ओलीले संसदहरुले राखेका सुझाव,आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको बताएका छन् । आजको बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राखेका थिए । दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए ।