सुदूरपश्चिम

अठार वर्षदेखि पुनःनिर्माणको पर्खायीमा बार्जुकोट दरबार

मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबार भग्नावशेषका रुपमा रहेको छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ताले दरबार आगजनी गरेको १८ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको दरबार हकवाला राजेन्द्रबहादुर शाहले बताए ।

विसं २०५७ भदौ २२ गते माओवादीका कार्यकर्ता आएर आगजनी गरेको लामो समय बित्दा पनि पुनःनिर्माण हुन नसकेको शाहको भनाइ छ । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।

पर्यटकीय रुपमा स्थापित गर्नका लागि नगरपालिकाले सङ्ग्रहालय निर्माण कार्य गर्न जरुरी रहेको स्थानीयवासीको भनाइ छ । बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गरे दरबारको संरक्षण र प्रवद्र्धन हुने स्थानीय अगुवा मोहन नेपालीले बताउनुभयो । दरबारमा बाइसे चौबिसे राज्य हुँदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बताइएको छ ।  जिल्लाका प्रख्यात दरबार द्वन्द्वकालमा जलाइएको १८ वर्ष बित्दा पनि पुनः निर्माण नहुँदा यसको प्रचारप्रसार हुन नसकेको अगुवा नेपालीको भनाइ छ । बाइसे चौबिसे राज्य चलाउँदै आएका जुगाडी राजा, कुडिकोट राजा र बार्जुकोटे राजाको शासनका चल्ने गरेको बूढीगङ्गा नगरपालिका–३ का ७५ वर्षीय बुद्धनरबहादुर रौलेले बताए ।

राज्य सञ्चालनका बेला बार्जुकोटमा आउने जानेको लर्को लाग्ने भए पनि अहिले दरबारसमेत नरहँदा दुःख लागेको रौलेको भनाइ छ । उहाँले स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले नै यसको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्नुपर्ने बताए । बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले बार्जुकोट दरबारको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रमा स्थापित गर्न थालेको बताए ।

नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण संवद्र्धन तथा प्रवद्र्धन गर्दै उनीहरुलाई पर्यटकीय रुपमा लैजाने गरी योजना बनाउन थालेको नगर प्रमुख शाहले जानकारी दिए । बार्जुकोट दरबार मात्र नभइ यो नगरपालिकाको १ देखि ९ वटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गर्दै संरक्षण र संवद्र्धन गर्दै लैजाने नगर प्रमुख शाहको भनाइ छ । बार्जुकोट दरबारमा संग्रहालय बनाउन प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने शाहले वाचा दिए ।