राजनीति

मिशन र भिजनका साथ अघि बढ्नु पर्नेमा काङ्ग्रेस नेता पौडेलको जोड

चितवनमा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन ।नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज चितवनमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरेका हुन ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाई छ । उनले भने “राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।” न्ेता पौडेलले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए ।

फरक प्रसङ्गमा उहाँले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिएका छन । नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।”नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए ।