समाचार

ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना हुने

ग्लेश्वर । म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना हुने भएको छ । बेनी बजार क्षेत्रमा बसोवास गर्ने तथा ग्रामीण क्षेत्रबाट समेत विभिन्न कामले आएका ज्येष्ठ नागरिकलाई दैनिक भेटघाट तथा अनुभव साटासाट गर्नका लागि बेनी नगरपालिकाले विनियोजन गरेको बजेटमा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समेत सघाउने भएपछि बेनीको गणेश टोलमा केन्द्र स्थापना गरिने भएको हो ।

दिवा सेवा केन्द्रको अभावमा पिपलको रुख आसपासमा बसेर दिन काट्ने गरेका ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने भौतिक संरचनासहित भेटघाटलाई सहज हुने गरी केन्द्रको स्थापना गरिने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन ।

“ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति हुन्, एकै ठाउँमा बसेर पुराना अनुभव आदानप्रदान गर्दा नयाँ पुस्तालाई पनि उपयोगी हुन्छ”, नगरप्रमुख श्रेष्ठले भने । केन्द्र स्थापनाका लागि बेनी नगरपालिका र प्रदेश सरकारको करीब रु १२ लाखको लगानीमा आवश्यक भौतिक संरचना निर्माण गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन ।

दिवा सेवासहित ज्येष्ठ नागरिकलाई बजार आसपासका क्षेत्रमा वृद्धाश्रमको मागसमेत गर्दै आइरहेको ज्येष्ठ नागरिक समाजले दिवा सेवा केन्द्रको स्थापनाले राहत मिल्ने ज्येष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए ।