समाचार

दिगो व्यवस्थानपका लागि दुई वनको वैज्ञानिक व्यवस्थापन

दल्लु । दैलेखका दुई वटा सामुदायिक वनको दिगो व्यवस्थानपका लागि वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको छ ।

दुल्लु नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरवी गाउँपालिका–१ रावतकोटको रातीखाल सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन कार्यक्रम लागू गर्न लागिएको डिभिजन वन कार्यालय दैलेखका डिभिजन वन अधिकृत मुन रावतले बताएका छन । “दुई वटा सामुदायिक वनको ३०६ हेक्टर क्षेत्रफलमा वैज्ञानिक व्यवस्थापन गर्न लागेका हौँ”, डिभिजन वन अधिकृत रावतले भने “यो कार्यक्रमबाट २७० घरधुरी लाभान्वित हुनेछन् ।”

स्थान ओगटी राखेका वृद्धि रोकिएका बुढा रुख काट्दै नयाँ रुख उत्पादन गर्ने योजनासहित व्यवस्थापन विस्तार गरिएको उहाँको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापनले वन डढेलो नियन्त्रण, चक्रीय चरिचरणमा बन्देज गरिनुका साथै पानी सिञ्चित र गोडमेल गरिनेछ । वनको विभिन्न खण्डमा विभाजन गरी १० वर्षे कार्ययोजना निर्माण गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिले वैज्ञानिक वन व्यवस्थापनका लागि निर्णयसमेत गरेका छन् ।

सय हेक्टरभन्दा बढी क्षेत्रफल भएको, उपभोक्ताको सक्रियता र कम भिराला क्षेत्रलाई रोज्ने क्रममा तीन महीना अघि दुई सामुदायिक वनलाई छनोट गरिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिएका छन । वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने भैरवी गाउँपालिका–१ का वडाध्यक्ष काशीराम कार्की बताए ।

दैलेखको एक लाख ५० हजार २०० हेक्टर भू–भागमा ७८ हजार १५७ हेक्टर वन क्षेत्रले ओगटेको छ । यहाँको वन क्षेत्रबाट वार्षिक २४ लाख ८२ हजार क्युफिट काठ, पाँच हजार चट्टा दाउरा उत्पादन क्षमता रहेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । चालू आर्थिक वर्षमा जिल्लाका ५६ सामुदायिक वन उपभोक्ता समूहले ४८ हजार ५५ साल, ३६ हजार ७९ सल्ला र २५५ गरी ८७ हजार ८९ क्युफिट काठ र ११ चट्टा दाउरा कटानको अनुमति लिएको वन डिभिजन दैलेखले जनाएको छ ।