बाग्मती

छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङका घटना

चितवन । अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा चितवन जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले शुक्रबार अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलङ्घनका घटना बढ्दै गएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष छ महीनामा ४५ घटना भएका थिए । यस वर्षको छ महीनामा जिल्लामा सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबर्जस्ती करणीका भएको बताउनुभयो । जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन् ।

जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन् । १७ जना बालिकालाई जबर्जस्ती करणी भएको छ भने चार जनामा यौन दुव्र्यवहार भएको छ । यस्तै सात जना महिलामाथि करणी भएको छ भने दुई जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । हाडनाता करणीका चार वटा घटना भएका छन् । जिल्लामा भएका अन्य मानवअधिकार उलङ्घनका घटनामा जातीय विभेद तीन वटा, घरेलु हिंसाका छ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा आठ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो ।

जिल्लामा पछिल्लो समय बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । यसलाई रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताएका छन ।

सो अवसरमा वक्ताले मानवअधिकारका विषयमा भएका घटनालाई दण्ड सजाय बढाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अधिवक्ताहरु कल्पना उप्रेती, मुकुन्द दाहाल, नेपाल पत्रकार महासङ्घ चितवका अध्यक्ष राधेश्यम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला लगायतले बोलेका थिए ।