समाचार

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा मिसिल झिकाउने आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले आज ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतमा उक्त दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुङ्गिएको थियो । सो विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने भएको हो । प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो ।

नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै सो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।

आफ्नो दाइजो भएको दाबी गर्दै सो फैसलामा चित नबुझेपछि प्रेरणाले सर्वोच्च अदालतमा पुनः पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो । अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको छ ।