पु.समाचार

प्रहरीलाई लुटिएँ भन्दै झुक्याउने बलरामलाई यसरी लगायो घोक्रेठ्याक

रुकुम । सार्वजनिक शान्तिमा खलल पु¥याएको भन्दै रुकुम (पूर्व)मा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई झुक्याएको भन्दै पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्माका अन्दाजी २८ वर्षीय खच्चरवाला बालाराम परियारविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।

यही असार १६ गते सोही गाउँपालिका वडा नं ५ को गर भन्ने ठाउँमा लुटेराबाट लुटिएँ भन्दै प्रहरीलाई आफैँ खबर गरेका परियार र त्यस घटनामाथि छानबिन गर्दा त्यो घटना सत्य नभएको प्रमाणित भएपछि प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

उनका अनुसार परियारले गएको १६ गते खच्चर लिएर रन्माबाट सोही गाउँपालिकाको पिपलटुङतिर आइराखेको बेलामा चार नकावधारीले हतियार देखाएर रु आठ लाख ५० हजार नगद लुटेको परियारले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धान गर्दा रु आठ लाख ५० हजार नभएको र लुटिएको भनिएको रकम पनि रु ६ लाख ५० हजार निजकै घरमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो । त्यसैगरी प्रहरीलाई पनि झुक्याएको कुरा परियारले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउने बित्तिकै १६ गते राति जिप्रकाले तकसेरा, रन्मामैकोट, हुकाम, कोल, जाङ, काँक्री, महतलगायतका इलाका प्रहरी कार्यालय तथा प्रहरी पोष्ट र जिप्रकाबाट गरी ५० भन्दा माथिको प्रहरी टोली परिचालन गरेको थियो ।