राजनीति

काठमाण्डौमा माक्स लगाएर हिँड्नु पर्दैन तर काँग्रेसको पछि लागेर जनता माक्स लगाएर हिँडे

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा माक्स लगाउनुपर्ने अवस्था नरहेपनि नेकपाका बिरोधीहरुले माक्स लगाएर हिँड्ने गरेको बताएका छन् । काठमाण्डौमा संघीय समाजबादीबाट नेकपामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा अधयक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना बिरोधीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, ज्येष्ठ नागरिक बीमा कार्यक्रम, कृषिमा आधुनिकिकरण लगायतका सरकारका कामबाट काँग्रेस झस्किएको र केही जनता पनि काँग्रेसकै पछि लागेको तर्क गरेको छन् ।

प्रधानमन्त्री ओलीले काँग्रेसले निर्बाचन पनि हार्नु सरकारको बिरोध पनि गर्न नपाउनु भनेर आफ्नो बिरोधमा उत्रिएको साँकेतिक दाबी गर्दै त्यसको पछि आफु नलाग्ने बताए । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुनुभन्दा अगाडी काठमाण्डौमा माक्स लगाएर हिँड्नै नसक्ने अवस्था रहेपनि अहिले माक्स लगाएर हिँड्न सकिने अवस्था रहेको दोहोर्याएका थिए ।

प्रधानमन्त्रीले आफूहरुको विकासका योजना कार्यान्वयन कसैले बिरोध गर्दैमा नरोकिने दाबी गर्दै खन्ने र बनाउने कार्यक्रम नरोकिने स्पष्ट गरेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ र आम नेपाली पार्टीका नीलकण्ठ पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपा कार्यालय धुम्रबाराहीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फूलमाला लगाएर पार्टी प्रवेश गराएक थिए ।

नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका तीनै जना नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आवद्ध थिएनन् ।

पार्टी प्रवेशलगत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताए ।