राजनीति

देउवाको बाहेक अरु कसैमा सभापतिमा सहमती भए मपछि हट्छुः वरिष्ठ नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए । उनले सभापति देउवाको विकलपमा अरु कोही सभापतिको दाबेदार भए आफू पछि हट्न पछि नपर्ने संकेत दिएका छन् । कार्यक्रममा आगामी नेतृत्वको सम्भाबित को हुन्न भन्ने भने नेता पौडेलले खुलाएनन् ।

पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पौडेलले भने “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । काङ्ग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।

सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । उनले भने, “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब काङ्ग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा काङ्ग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि गर्दैन भने । पौडेलले भने, “नेपाली काङ्ग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।”

सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए ।