समाचार

रोकिएन सिरिञ्ज आतंकः धनुषामा पनि

धनुसा । पछिल्ललो सयम काठमाडौं उपत्यकामा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि भएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो । बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिञ्जजस्तो तिखो वस्तुले घोचेको उनले बताएका छन । घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भन्ने “पुलको पारिपट्टि मोटरसाइकल रोकेर दुई जना बसेका थिए ।

केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ, मेरो मोटरसाइकल रोकिने बित्तिकै ‘हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो ।”तिखो वस्तुले घोचेपछि एकछिन आँखा देख्न नसकेको चारैतिर अँध्यारो भएको उनको भनाइ छ । “मैले समाचारमा यस्तो घटनाबारे पढेको थिएँ । आफैँ त्यसको शिकार भइयो”, उहाँले भन्नुभयो, “एकछिन त आँखै देखिनँ । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए ।”

उक्त घटनापछि ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरु भागेको शिक्षक अधिकारीले बताएका छन । यता, प्रहरीले उक्त कार्यमा संलग्नको खोजी कार्य जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गरेका छन ।

केही सातायता काठमाडौँ उपत्यकामा भएको यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडितले सिरिञ्ज आक्रमण भएको बताए पनि कार्कीले काँटीले घोचेको बयान दिएका छन् ।