खेलकुद

अण्डर – १९ इस्टर्न रिजन क्रिकेटमा आज सिंगापुरसँग प्रतिस्पर्धा गदैः समुह विजेता बन्ने नेपालको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी अण्ड – १९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा आज बिहान नेपालले सिंगापुरको सामना गर्नेछ । र, सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता बन्नु हुनेछ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ । अघिल्लो खेलमा ६ विकेट लिएका सागर ढकालको प्रर्दशन सिंगापुरविरुद्व हेर्न लायक हुनेछ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा विस्फोटक ब्याटिङ गरेका पवन सरार्फ र रित गौतमको ओपनिङ जोडीको समेत बास्तविक परिक्षण हुनेछ । सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह ’ए’ मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ ।

नेपाल र सिंगापुर हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा नेपाल पूर्ण रुपमा हाबी भएको छ । नेपालले सिंगापुरविरुद्ध ९ खेलमा जित हात पारेको छ । नेपाल र सिंगापुरबीचको १ खेल खराब मौसमका कारण नतिजाविहीन बनेको थियो ।सन् १९९९ को युथ एसिया कपमा पहिलो पटक नेपाल र सिंगापुरले प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले सिंगापुरलाई ७० रनमा रोक्न सफल भएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ५ ओभरको खेल खेल्दा २६ रनको स्थितिमा खेल पानीले अवरुद्ध गरेपछि दुवैले अंक बाडेका थिए ।

सन् २००३ को युथ एसिया कपमा नेपालले सिंगापुरलाई १ सय ४३ रनले हराएको थियो । यस्तै, सन् २००५ को एसीसी यू(१९ कपको क्वाटरफाइनलमा १०० रनको अन्तरले पाखा लगाएको थियो । सन् २००७ र २००९ को एसीसी यू(१९ एलिट कपमा नेपालले क्रमश ७ विकेट र ३ विकेटको जित निकालेको थियो । सन् २०१७ को यू(१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक भेट भएको थियो । जसमा नेपालले ४ विकेट र २२ रनको जित निकालेको थियो ।

अन्तिम पटक नेपाल र सिंगापुर २ महिना अघि यू(१९ विश्वकप छनोटमा आमने सामने भएका थिए । उक्त खेलमा नेपालले २ सय १७ रनको फराकिलो जित निकालेको थियो ।