प्रदेश 1

खडेरीले धान रोपाइँ प्रभावित

ओखलढुङ्गा । आकासेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् ।

आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन । विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो । लामो खडेरीले समयमै धान रोप्न नपाउँदा यसको उत्पादनमै समस्या हुने किसानको चिन्ता छ ।

खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको पोकलीका किसान राम घिमिरेले बताए । “खडेरीले चौपट पा¥यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक शुरु नै भएन”, घिमिरेले भने, “झनझन हिउँद जस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो ।” सिँचाइको उपयुक्त व्यवस्था भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको छ ।

ओखलढुङ्गाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार तीमध्ये करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ शुरु भएको छ । सुनकोशी, दूधकोशी र लिखु नदी आसपासमा पर्ने तल्लो भू–भाग जिल्लाको सुक्खाग्रस्त क्षेत्र हो । यो क्षेत्रमा खेतीबाली लगाउन खडेरीका कारण समस्या छ । लामो खडेरीका कारण बारीमा लगाएको मकै र धानको बीउ सुकेर नष्ट भएको चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका मगरले बताए । खडेरीको पीडा सुनाउन किसान गाउँपालिकामा आउने गरेको पनि उनले बताए । “घु¥यानमा लगाएको तरकारीसमेत खडेरीले खायो, मान्छेले के खाने होला भन्दै सर्वसाधारण हामीसँग सोध्न आउँछन्”, उनले भने, “हाम्रो गाउँपालिका सुक्खाग्रस्त हो, खानेपानीकै सङ्कट छ । झन सिँचाइका लागि त अहिले केही गर्न सक्ने अवस्था नै छैन । जिल्लाका किसान आकाशे पानीको प्रतीक्षामा छन् ।”