स्वास्थ्य

मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना

गलकोट । दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गरेका छन् । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको याचना गरेका हुन् ।

तीन वर्षअघिदेखि दुवै मिर्गौला फेल भएका श्रीषले औषधिले उपचार नभएपछि तीन महीनादेखि डायलासिस गराउँदै आएका छन् । उनको उपचारका लागि हालसम्म रु नौ लाख खर्च भइसकेको परिवारले जनाएको छ । “अहिलेसम्म घरको सबै पैसा खर्च ग¥यौँ, अब त पैसा पनि सकियो”, श्रीषकी बहिनी मनकुमारी श्रीषले भने, “आर्थिक अभावकै कारण डायलासिस गराउन पनि समस्या भएको छ, सबैले सहयोग गरेमा मात्र दाजुले नयाँ जीवन पाउनुहुन्थ्यो ।”

परिवार पाल्ने मुख्य व्यक्ति श्रीषनै जीवनमरणको दोसाँधमा परेपछि परिवारको समेत बिचल्ली हुने भएको हो । नेपाल सरकारको सिफारिसमा उपचार गराउँदासमेत एकपटक डायलासिस गर्दा रु नौ हजार ५०० खर्च लाग्ने परिवारले जनाएको छ । श्रीष सात वर्ष दुबईमा काम गरी बिरामी भएर नेपाल फर्केका थिए ।

नेपालमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या आएपछि चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै आउनुभएको उहाँको परिवारले जनाएको छ । औषधिले निको नभएपछि श्रीषको पोखरास्थित लेकसिटी अस्पतालमा तीन महीनादेखि डाइलासिस गर्दै आएको बहिनी मनकुमारीले जानकारी दिए । “मिर्गौला प्रत्यारोपण गर्ने पैसा छैन”, मनकुमारीले भने, “डाइलासिस गरेर मात्र कति समय बचाउने ।” सबैले थोरै धेरै आर्थिक सहयोग गरेमा आफ्नो श्रीमान्ले पुनर्जन्म पाउने श्रीषकी श्रमीती प्रमिला श्रीषको आग्रह रहेको छ ।