बाग्मती

२ सय बढि विद्यार्थिलाई पोशाक र शैक्षिक सामग्री वितरण

मुग्लिन । विकट जिल्लाका २ सय २० विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । चितवनको इच्छाकामना–२ विकटमा रहेको आधारभूत राष्ट्रिय विद्यालय (कक्षा १ देखि कक्षा ८ सम्म) मायाटारका २२० विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र साबुन सहयोग प्राप्त भएको छ ।

इको सोप बैंक, ङिस्याङ मनाङ वमेन सोसाइटी स्वयम्भू काठमाडौँ, मनाङ समाज सेवा समिति स्वयम्भू काठमाडौँ र मनाङ मस्र्याङ्दी क्लब स्वयम्भू काठमाडौँले संयुक्तरूपमा बुधबार विद्यालयमा पुगेरै सहयोग गरेका हुन् । कार्यक्रममा इको सोप नेपालले विद्यार्थीलाई हात धुने तरिकासमेत सिकाएको थियो । इको सोपले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विकट बस्तीको विद्यालयमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक नरेन्द्र लामिछानेले बताएका छन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदमबहादुर चेपाङले विद्यालयमा बालबालिका खाली खुट्टा र फाटेको कपडामा विद्यालय आउन बाध्य रहेका बेला सहयोग प्राप्त भएकामा खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिएका हुन । उनले विद्यालयमा ७५ प्रतिशत चेपाङ बालबालिका अध्ययनरत रहेको बताएका छन ।