अन्तर्राष्ट्रिय

आप्रवासीको वासस्थनमा हवाई आक्रमणः ४० ले ज्यान गुमाए

एजेन्सी । लिबियामा आप्रवासीहरूको वासस्थान रहेको स्थानमा भएको हवाई आक्रमणमा परि ४० जनाको ज्यान गएको छ । लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको उक्त आक्रमणमा परी अन्य ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै विविसीले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मालेक मेर्सेकले ४० जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको पुष्टी गरेका छन । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरू बसेको ठाउँमा आक्रमण भएको हो । आक्रमणका बेलामा १२० जना आप्रवासी बन्द कोठाभित्र रहेका थिए ।

राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले यो आक्रमणमा स्वघोषित लिबियन नेशनल आर्मी (एलएनए) लाई दोष लगाएको छ । आक्रमणको राष्ट्रसङ्घलगायत थुप्र्रै अन्तर्रा्ष्ट्रिय सङ्घसंस्था र विभिन्न देशहरूले निन्दा गरेका छन् । उनीहरूले यो आक्रमणलाई अमानवीय र पाशविक आक्रमणको संज्ञा दिएका छन् ।