बाग्मती

प्रेस क्षेत्र नियन्त्रण हुँदैनः कार्यवाहक मुख्यमन्त्री

प्रदेश नं ३ का कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले वर्तमान अवस्थामा कसैले पनि प्रेस क्षेत्रलाई नियन्त्रण गर्न नसक्ने बताएका छन ।

हेटौँडामा बुधबार आयोजित पत्रकार महासङ्घ प्रदेश नं ३ को प्रथम वार्षिक साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले नेपाल सरकारले प्रेस क्षेत्रलाई नियन्त्रण गर्नेगरी मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक ल्याउन नखोजेको बताएका हुन । प्रस्तुत विधेयकमा सहमतिमा अलिकति छाँटकाट गर्दा हुने बताउँदै उहाँले सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्न नसक्ने धारणा व्यक्त गरेका थिए ।

पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक र सूचना प्रविध विधेयकले पत्रकारको लेख्ने अधिकार समाप्न पार्न खोजेको आरोप लगाएका छन । उनले अब महासङ्घले तेस्रो चरणको आन्दोलनपछि चौँथो चरणमा जानुपरेमा संयुक्त राष्ट्रसङ्घलाई गुहार्नेसमेत चेतावनी दिएका छन । कार्यक्रम पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका पत्रकारको सहभागिता थियो ।