खेलकुद

न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड घरेलु मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रोस टेलरले २८ तथा कप्तान केन विलियम्सनले २७ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १५ चौका र १ छक्काको मद्दतले १ सय ६ रनको शतकीय इनिङ्स खेले । यस्तै अर्का ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान इयान मोर्गेन ४२, जोय रुट २४, आदील रशिद १६, लाइम प्लुन्केट १५ तथा बेन स्ट्रोक्स र जस बट्लरले समान ११र११ रनको योगदान गरे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २र२ विकेट हात पारे ।जितसंगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तस्रो टोली बनेको छ । अब एक टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छन् । जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अंक जोडेको छ । इंग्ल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अंक रहेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ ।
पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । बंगालदेश भने बाहिरिसकेको छ ।