प्रदेश 2

बारामा २४ प्रतिशत धान रोपाइँ

कलैया । असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ, यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

समयमा वर्षा नभइदिँदा कृषक धानको बीउ खेतमा ढिलो छर्न पाएको र यसले धानको बिरुवासमेत ढिलो उत्पादन भएकाले समयमा रोपाइँ हुन नसकेको बारागढी गाउँपालिकाका–४ सुखीका किसान ललन पासवानले बताए । यो वर्ष कृषकले बर्खे, भदैया, अगहनी गरी ५२ हजार ४७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य लिएको छ । तर समयमा वर्षा नहुँदा सो लक्ष्य पूरा हुनेमा शङ्का रहेका प्रमुख यादवको भनाइ छ ।

हप्तादिनभित्रमा वर्षा नभइदिएमा धान उत्पादनमा ठूलो कमी आउने र खडेरी पर्ने सम्भवनासमेत उत्तिकै रहेको प्रमुख यादवले भन्नुभयो । गत वर्ष किसानले बर्खे, भदैया, अगहनी धानको खेती ५० हजार ४७५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । त्यसबाट ५८ लाख १० हजार ५४३ दशमलव ६५ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्र बाराले जनाएको छ ।