अन्तर्राष्ट्रिय

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

काबुल । अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले बुधबार बताएका छन् । तालिबान लडाकू समूहले प्रहरी जाँचचौकीमा आक्रमण गरेपछि सो झडप शुरु भएको रहमातीले जानकारी दिएका छन् ।

सोमबार रातीबाट शुरु भएको यो झडप मङ्गलबार बिहानसम्म जारी रहेको थियो । सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीको क्रममा ३५ लडाकू मारिनुको साथै अन्य दर्जनौ घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस झडपको क्रममा एक सैनिक अधिकारीसहित छ सुरक्षा अधिकारीले ज्यान गुमाएका सरकारी अधिकारीले जानकारी दिएका छन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।